Monday, 31 August 2015

"संयुक्त मुक्तकमाला "


१,राधा भट्टराइ
कहाँबाट अधिकार पाएर छिमेकीले मेरो आँगन नाग्छन्
कसले दियो अनुमति जो कोही मेरो देशको माटो ताक्छन्
काका काकी चाचा चाची अंकल आन्टी गाँस्छन नाता पनि
तर मानवताको ईतिहास भुल्नेका हर नाता फिका लाग्छन् !!
****
२,लक्ष्मी अनुरागी
फूलले कहिल्यै भन्दैन मलाइ टिप भनेर
बाँस पनि बोल्दैन उसलाई खिप भनेर
जसो मन लाग्छ त्यसै गर्छौं हामी मान्छे
सुटुक्क भाग्छ अँध्यारो जलायौ दिप भनेर।।
******
३,मुना सिग्देल
आँखामा अपत्यारीला सबाल आउँछन
बेक़सूर यो मनलाई दोषी बनाउँछन
समयको पनि मनोमानी भो ज़िन्दगी सँग
कैले हाँस्न लगाउछन कैले रुन लगाउँछन!!
*****
४ भगवती बस्नेत
उठ जाग युवा अब नेपालको मुहार फेर्न
आफ्नै दाजुभाइको हत्या कसोगरी सक्छौ हेर्न?
जात धर्मको बिज रोपी आफ्नै भित्र लडाएर-
देशद्रोही राष्ट्रघातीलाई आजैदेखि थालौं घेर्न।।
*******
५,सावित्रा लुइँटेल घिमिरे
आमा रुँदा आसुँपुछ्ने सन्तान भेटिएन
सुन्दर शान्त नेपाल हेर्ने रहर मेटिएन
लौन दाजु लौन भाई सोचौं दिदी बहिनी
पहल गरौं शत्रुका ति घाँटी रेटिएन।।
******
६,भवानी अधिकारी नेपाल
अझै मन माझिएन द्वन्द झन चर्किन सक्छ
मायाँ त गरे झैं लाग्छ तर घृणा फर्किन सक्छ
कम्पन हुँदा बेजोडले धरासायी बन्दै गा'छ
प्रेमपथको यात्री यो बाटो मोडी तर्किन सक्छ ||
******
७,रजनी शर्मा
कहिले बाढी पहिरो आउने
कहिले भूकम्पले सताउने
दुश्मन पनि यहि वेला लाग्यो
को होला रगतको होली खेलाउने ||
*******
८,निसा कट्वाल
नबसौं साथी यसरी हामी कुलतमा फसेर
जागौं है अब देशको निम्ती यि घुँडा धसेर
छैन कोही यहाँ ठुलो र सानो नगरौं भेदभाव
दुख्दैछिन आमा बलिन्द्र धारा ति आसुँ खसेर |
*****
९,सबिता अधिकारी घिमिरे
मायामा टुटेको छ मन बुझिदिने को होला
सत्यता सँग साँच्ची डटेर जुझिदिने को होला
बिछोडमा जिउन कती कठिन् हुन्छ बुझ्नु
पिरतिको बर्षातमा रुझिदिने को होला ||
********
१०,रेखा पन्त
भताभुंग लथालिंग भा'को छ मन
बिपरित तर्फ मात्र गा'को छ मन
हेर्दा देख्दिन तर दुखिरहन्छ किन
कुटुकुटु भित्र भित्रै खा'को छ मन।।
*******
११,बसु श्रेष्ठ
मदिराको के नशा धोका पिउँनुमा मजा छ
आघातको चोटलाई हाँसेर सिउँनुमा मजा छ
सुखले बाँच्न यहाँ सबैले जानेको नै हुन्छ
दु:खले पिल्सिएर मलाई खिउँनुमा मजा छ।।
*******
१२,बिमला शर्मा ढुङ्गाना
भाई भाई फुटी देश लुटेका छन अचेल
त्यसैले त धेरै सवाल उठेका छन अचेल
सहमती होला भन्दा चर्किंदैछ द्द्न्द
शान्ति भंग गर्न मान्छे जुटेका छन अचेल।।
******
१३,अम्बिका याम्फु (अनमोल )
सर्वत्र शिक्षाको किरण छर्न तिमी मास्टर बनेर आउँनु
बर्षौ देखि रोगी छिन् जननी तिमी डाक्टर बनेर आउँनु
जात र धर्मले बुद्द क्षेत्र द्दन्द्दग्रस्त हुँदैछ,ख्रिश्टनको हैन
मौलिकताको दर्शन दिन तिमी आदिम पास्टर बनेर आउँनु।।
********
१४,निलम भुसाल
आफ्नै दाजुभाई पनि गर्छन मारामार
छिमेकी संग किन भयो पानी बाराबार
कस्तो थियो कस्तो भयो हेर्दा हेर्दै देश
कसले रोक्ला हिंसा हुन थाल्यो लगातार।।
*******
१५,कल्पना पौडेल "जिज्ञासु
यही मुटु कठोर पारी जिउँने आधार बनाउँछु
लिलाम नहोस भावना त्यस्तो बजार बनाउँछु
कमजोर पार्छ आत्मलाई मायाँ भन्ने चिजले
सपना देख्ने नज़र जलाई अंगार बनाउँछु।।।
*******
१६,शान्ता खवास
यादै यादमा जीवन हाम्रो ढल्दै छ
हिजो भन्दा आज झन झन गल्दै छ
कहाँबाट कहा पुर्यायो समयको वेगले ,
सोच्दै नसोचेको ढंगले जीवन चल्दै छ ||
*******
१७,सिता तिमल्सिना अधिकारी
घर अनि परिवार,छोडेर म परदेशमा रुन्छु
सम्झना का बिरुवा गोडेर म परदेशमा रुन्छु
हे माया ममताका खानी,माफ गर है भनी
दस-दस औंला,जोडेर म परदेशमा रुन्छु!!
******
१८,लिला रिजाल
एउटालाई चोट लाग्दा दुख्थ्यो गाउँनै पहिले
जिउंदै आगो सल्काएर मार्न थाले अहिले
खै के हुन लाग्या होला जुध्छन् सबै अचेल
मुटु दुख्ने खबर मात्र आउँछन् किन जहिले ||
******
१९ ,केशु पोख्रेल
आमाको मुहार हसिलो हेर्ने रहर छ
अँधेरो बस्ति उज्यालोमा फेर्ने रहर छ
शान्ति बिहिन छ मेरो देश आज
सेता कागजमा दुई शब्द केर्ने रहर छ

No comments:

Post a Comment

मुक्तक सर्जक मित्रहरुको होली बिशेष मुक्तकहरु :-

(१) एक अर्कामा रंग साटासाट गरेर होली खेलौं विभिन्न जात बिच सद्भाव छरेर होली खेलौं मदिरा पिएर उच्छृङ्खल गतिविधि केहि नगरि, भाईचार...